जिल्लामै माथागढीको नौलो प्रयास, वडा तहबाटै सार्वजनिक सुनुवाई

रामचन्द्र रायमाझी
पाल्पा, (माथागढी) फागुन ३०/ सामाजिक जवाफदेहिता अभिवृद्धिको लागि सार्वजनिक सुनुवाई एउटा बलियो संयन्त्र हो । यसैलाई आत्मसाथ गर्दै जिल्लाका स्थानीय तहहरुले अर्धवार्षिक र वार्षिक रुपमा सार्वजनिक सुनुवाई कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।
जिल्लामा रहेका दुई नगरपालिका र आठ गाउँपालिकाहरुले आ–आफ्नै ढङ्गले सार्वजनिक सुनुवाई गर्दै आएको पाइन्छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा सेवा प्रदायक निकायलाई सेवाग्राही प्रति जवाफदेही बनाउन वडास्तरबाटै गरिने सार्वजनिक सुनुवाई प्रभावकारी हुने भएपनि जिल्लाका अधिकांश स्थानीय तहहरुले गाउँपालिकाको केन्द्रमै मात्र सार्वजनिक सुनुवाई सिमित गर्नु र समयमै नगर्ने गरेका छन् । तर जिल्लाको एक गाउँपालिकाले भने वडा तहबाटै सार्वजनिक सुनुवाईको कार्यक्रम गरी जिल्लामै नयाँ अभ्यासको सुरुवात गरेको छ । आठ वटा वडा रहेको माथागढी गाउँपालिकाले सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

सेवा प्रदायक र सेवाग्राही बीचको विकास कार्य वा सेवा प्रदानको अन्तर सम्बन्धलाई पारदर्शी तरिकाले बलियो बनाई विकासको गतिलाई अगाडि लैजान वडास्तरबाटै सार्वजनिक सुनुवाई गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले भने ‘वडा तहबाटै गरिएको सार्वजनिक सुनुवाईले सुशासन, पारदर्शिता र जावफदेहिता प्रवद्र्धन गर्ने जस्ता मूलभूत कुरालाई पृष्ठपोषण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’ वडा कार्यालयहरुले प्रवाह गरेको सेवा तथा सम्पादित कार्यक्रमहरुको प्रभावकारिता र सेवाको विद्यमान अवस्थालाई मूल्याड्ढन गर्न फागुन ६ गते बहादुरपुर, ७ गते रहबास, ९ गते गोठादी, १२ गते हात्तिलु· १४ गते झडेवा, १९ गते रुप्से र २३ गते चिदीपानी र कसेनीका वडामा सार्वजनिक सुनुवाई गरेको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ को अर्धवार्षिक रुपमा वडा कार्यालयसँगै गाउँपालिकामा पनि सार्वजनिक सुनुवाई गरेको छ ।

गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाईमा स्थानीय पाठ्यक्रम लागु गर्ने तयारीमा आफुहरु जुटेको अध्यक्ष थापाले बताए । उनले भने ‘मगर संस्कृतिको जर्गेना गर्न गाउँपालिकाको लेटरप्याड, स्टाम्प र सरकारी निकायमा मगरी भाषा लेख्ने निर्णय गरेका छौं ।’ योजनामा पारदर्शिता, उत्तरदायित्व तथा सूचनाको हक स्थापित गर्न योजना सञ्चालन पूर्व उपभोक्ता समितिहरुलाई तालिम समेत प्रदान गरिएको अध्यक्ष थापाले जानकारी दिए । उनले वस्तीस्तरबाट आएका योजनाहरु कार्यान्वयनमा रहेको बताए । गाउँपालिकाले आयोजना गरेका चालु आवको पहिलो सार्वजनिक सुनुवाईमा प्रगति विवरण सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत दीपककुमार नेपालीले गाउँपालिकाका ४ सय ४८ योजना सञ्चालनको क्रममा रहेको जानकारी दिए । उनी भन्छन्, ‘सुशासनको प्रत्याभूति जनतालाई गराउन स्थानीय सरकार लागि परेको छ । हामी जनताका आधारभूत आवश्यकतामा केन्द्रीत रहेर कार्यक्रमहरु कार्यान्वयन गरिरहेका छौं ।’ सार्वजनिक सुनुवाई कार्यक्रममा चिदीपानीकी तुलसा न्यौपानेले आफु भूकम्पको वास्तविक पीडित भएर पनि घर बनाउँदा रकम नपाएको गुनासो गरिन् । स्थानीय पाठ्यक्रम छिटो लागु गरी संस्कृतिको जर्गेना गर्न गाउँपालिकालाई शिक्षक कृष्ण रानाले सुझाव दिए ।

चिदीपानीका राजकुमार पन्थीले गाउँपालिकाप्रति जनताको आकर्षण नरहेको आरोप लगाए । उनले जनप्रतिनिधिहरु धेरै योजनाहरुमा आफै प्रत्यक्ष लाभसँग जोडिएर कार्यक्रम सञ्चालन गर्दा वास्तविक जनता मर्कामा परेको चर्चा गरे । कार्यक्रममा नेकपामा प्रतिनिधि विमल काफ्ले, नेकपा माथागढी संयोजक हरि चौहान, नेपाली कांग्रेस माथागढी संयोजक बालकृष्ण जिसी, राप्रपाका राजेन्द्र जिसी लगायतले गाउँपालिका सूचनामैत्री र पारदर्शी बन्ने अभ्यासमा रहेको भन्दै गाउँपालिकाको प्रशंसा गरे ।

  • 195
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    195
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *