जापानमा आएको आँधीमा ३६ को मृत्यु

(रासस/सिन्ह्वा), असोज २७/जापानमा आएको ‘हागिबिस’ नाम दिइएको शक्तिशाली आँधीका कारण ३६ जनाको मृत्यु भएको छ । आाँधीपछि बाढी र पहिरोमा परी हराईरहेका व्यक्तिको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको बताइएको छ । आँधीको कारण कम्तीमा १७ व्यक्ति हराइरहेका र कम्तीमा एक सय जना घाइते भएको क्योदो समाचार समितिले जानकारी दिएको छ । घाइतेहरुको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन् । यस आँधी जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ । आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकहरुले बताएका छन् । आँधीको बखत रक्षा सेना, प्रहरी र दमकलकर्मीहरू सञ्चालन गरिरहेका छन् । जापानको रक्षा मन्त्रालयले सोमबार बिहानसम्म करिब ३१,००० जनालाई उद्धार अभियान सञ्चालन गर्नका लागि परिचालन गरिएको जानकारी दिएको छ ।