जापनीज नागरिक ‘ओके बाजे’ लाई पाल्पालीले गरे बाजागाजा सहित सम्मान

पाल्पा, फागुन ३०/२०५० सालदेखि जिल्लाको शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा सक्रिय समाजसेवी जापानी नागरिक ओके बाजे (काजुमासा काकिमी) लाई बिहीबार तानसेनमा पञ्चे बजागाजा सहित नागरिक अभिनन्दन गरिएको छ । जिल्लाका विद्यालय, विभिन्न संघसंस्था, राजनितिक दल, नागरिक समाज, जनप्रतिनिधिहरुले उनलाई बजागाजा सहित सम्मान गरेका हुन् । उनलाई बाजासहितको ¥यालीले नगरपरिक्रम गराइएको थियो । नगरपरिक्रम पछि ७८ वर्षिय समाजसेवी ओके बाजेलाई तानसेनको टुडिखेलमा भव्य समारोहका बीच सम्मान गरिएको हो । उनलाई यस अघि पनि रामपुरमा दुई पटक नागरिकहरुले अभिनन्दन गरिसके थिए । जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई चेतनशील बनाउन, शैक्षिक जागरण मार्फत समाज रुपान्तरणको अभियानमा ओके बाजेको महत्वपूर्ण भूमिका रहेको छ । सम्मान कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले उनलाई सम्मान गर्दै जिल्लामा जापनिज नागरिक ओके बाजेको योगदान महत्वपूर्ण रहेको बताए । कार्यक्रममा जापानबाट आएका ६० जना कलाकारहरुले समेत ओके बाजेको सम्मानमा विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए । ओके बाजेको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको मूल समारोह समितिका संयोजक सुन्दर श्रेष्ठले जानकारी दिए । विशेषगरी पूर्वी पाल्पाका जनजाती मगर दलित बस्तीमा विद्यालय खोल्ने, स्वास्थ्यचौकी निर्माण, गरीव बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान, विद्यालयमा शिक्षक नियुक्ती, विद्यालयमा पुस्तकालय स्थापना, विद्यालय भवन निर्माणमा ओके बाजेले सहयोग गर्दै आएका छन् । जिल्लाका १ सय ५० विद्यालयमा ओके बाजेले सहयोग गरिसकेका हुन् । सामाजिक क्षेत्रमा सक्रिय भूमिका खेलेको भन्दै नेपाल सरकारले बाके बाजेलाई गोरखा दक्षिणबाहु तेस्रोले सम्मान गर्दै नेपालका लागि आवासीय प्रवेश आज्ञा प्रदान गरेको छ । जापानबाट अग्रेजी शिक्षक सेवा निवृत्त भएपछि नेपालको अन्नपूर्ण पदयात्रामा आएका काजुमासा काकिमी पाल्पा जल्पा ढोलिमाराका पर्यटक गाईड तिलक आलेसंग भेटघाटपछि सामाजिक कार्यमा सक्रिय भएका हुन् ।

  • 391
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    391
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *