जनप्रतिनिधिलाई सेवाग्राहीको गुनासै–गुनासा

बजेट विनियोजनमा पक्ष विपक्षको व्यवहार नगर्न आग्रह

अनिल खत्री
गुल्मी, फागुन २८/जिल्लामा रहेको एक स्थानीय तहका सेवाग्राहीहरुले जनप्रतिनिधिहरु समक्ष गुनासै–गुनासा राखेका छन् । मालिका गाउँपालिकाको अर्धवार्षिकी समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सेवाग्राहीले पालिकाले विनियोजन गरेका स–साना बजेट वितरणले कामभन्दा पनि दुरुपयोग बढेको, जनप्रतिनिधीले सेवाग्राहीलाई राजनीतिक व्यवहार गरेको गुनासो गरेका हुन् । विभिन्न वडाहरुबाट कार्यक्रममा पुगेका सेवाग्राहीले गाउँपालिकाले धेरैजसो रकम डोजर लगाउने काममा छुट्टाएको, केहि उपभोक्ता समितिले काम नगरी बजेट दिइएको विषयहरु उठाएका थिए ।

सेवाग्राहीले पालिका भित्रका अधिकांश स्थानमा मोटरबाटोहरु पुगेपनि सांघुरो र खाल्डाखुल्डी रहेकाले त्यसतर्फ ध्यान दिन जनप्रतिनिधिहरुलाई सुझाव दिए । उनीहरुले महिलाहरुको आयआर्जनका कार्यक्रमहरुमा आगामी बजेटमा ध्यान दिनुपर्ने, जेष्ठ नागरिक परिचय पत्र पालिकाबाट वितरण गरिनुपर्ने, स्थानीय तहमा प्राविधिक क्याम्पस र सुविधा सम्पन्न अस्पताल खोल्नुपर्ने माग गरेका छन् । गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा भएको कार्यक्रममा सहभागीले बजेट वितरण र उपभोक्ता समिति गठनमा पक्ष विपक्षको व्यवहार नगर्न जनप्रतिनिधीलाई आग्रह गरेका हुन् । गाउँपालिकाले वडास्तरमा पनि सार्वजनिक सुनुवाई एवं प्रगति समीक्षा कार्यक्रम राख्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष रितबहादुर थापा, उपाध्यक्ष देवा अर्याल रिजाल, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेल र गाउँपालिका भित्रका वडा अध्यक्ष, विभिन्न विषयगत समितिहरुका संयोजक, विषयगत कार्यलयका प्रमुख लगायतले सहभागीहरुले उठाएका प्रश्न तथा गुनासाहरुको जवाफ दिएका थिए । सहभागीहरुको प्रश्नको जवाफ दिर्दै गाउँपालिकाका अध्यक्ष थापाले सेवाग्राहीका सुझावहरुलाई आत्मसाथ गरेर अगाडि बढ्ने बताए । उनले सेवाग्राहीले उठाएका महत्वपूर्ण विषयहरुमा गाउँपालिका गम्भीर भएर लाग्ने प्रतिवद्ध जनाए । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले विभिन्न शिर्षकका बजेटमा अर्धवार्षिक प्रगतिहरु, आगामी बजेट तथा कार्यक्रमहरुको विषयमा पनि जानकारी गराएका थिए । उनले गाउँपालिकाले भौगोलिक सूचना प्रणाली (जीआईएस) को सुरुवात गरेको जानकारी दिए । समग्र गाउँपालिकाको विकास गर्ने उद्देश्यले तयार पार्न लागिएको २० वर्षे ‘मास्टर प्लान’को निर्माणका लागि यो प्रणाली सञ्चालनमा ल्याएको गाउँपालिका प्रवक्ता शोभाखर गिरीले बताए ।
उनले भने ‘जिआईएस् प्रणाली मार्फत प्रत्येक व्यक्तिको व्यक्तिगत प्रोफाइल जस्तै व्यक्तिको आम्दानी, परिवार संख्या, घरदेखि वडा र गाउँपालिका कार्यालय जाने दूरी लगायतका कुराहरु जानकारी पाउन सक्ने छन् ।’ घरमा उत्पादन हुने अन्न, पालेका गाईवस्तु लगायतका पक्षहरु पनि प्रणालीमा नै अपडेट गराउने सकिने छ । गाउँपालिकाको कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, धार्मिक एवम् पर्यटकीय स्थल लगायतका पक्षहरु पनि प्रणालीमा समेटिईने बताइएको छ । सार्वजनिक सुनुवाई कार्यक्रमको नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरे र उपाध्यक्ष अनिल खत्रीले सहजीकरण गरेका थिए ।

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *