चुलो–चौकोमा सिमित महिलालाई क्षमता अभिवृद्धि तालिम

पाल्पा, जेठ ३१/चुलोचौकोमा सिमित रहेका महिलाहरुलाई सामाजिक कार्यमा सक्रिय गराउन तीन दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम दिइएको छ ।
समाजका हरेक गतिविधीमा सक्रिय भूमिका निर्वाह गराउन रिव्दीकोट गाउँपालिका १ ख्याहाको सहयोगमा गाउँ महिला समन्वय समितिले महिलाहरुको क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सञ्चालन गरेको हो ।

समाजका हरेक गतिविधीमा महिला र पुरुषको समान सहभागिता भए मात्र सही विकास हुने भएकाले पछाडी परेका महिलाहरुलाई आफ्नो कुरा खुलेर राख्न सक्ने, आफ्नै नेतृत्वमा कार्यक्रमहरु सञ्चालन गर्न सक्ने, हिसाव किताब आफै राख्न सक्ने, महिलालाई आवश्यक पर्ने ज्ञान तथा सचेतना आयआर्जनका कार्यक्रम आफै माग गर्न सक्ने गरी क्षमतावान बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको वडा अध्यक्ष विष्णु गैरेले बताए । ४५ जना सहभागी तालिममा पाल्पा सिविआरका कार्यक्रम संयोजक कृष्ण गहतराज र पत्रकार कृष्ण पोखरेलले सहजीकरण गरेका थिए । तालिममा वडा १ का दलित महिला सदस्य गिता कौशलले महिलाहरुले आफ्ना कुराहरु राम्रोसंग राख्न नसक्दा हरेक क्षेत्रमा पछाडी परेको बताईन् ।

उनले निधक्क भएर आफ्ना कुरा राख्न,र आवश्यक पर्ने आयआर्जन तथा सचेतनाका कार्यक्रम गाउँपालिकामा माग गर्न महिलाहरुलाई आग्रह गरिन । सहभागी महिलाहरुले उठेर आफ्नो नाम बोल्न नसक्ने अवस्थाबाट सार्वजनिक समारोहमा कार्यक्रम सञ्चालनदेखि व्यवस्थापन तथा वक्ताको रुपमा दुई चारवटा कुरा राख्न सक्ने गरी तालिमले आत्मबल बढेको महिला समन्वय समितिका अध्यक्ष निम कुमारी रजालीले बताईन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •