चुलोचौकोमा सिमित महिला सामाजिक क्षेत्रमा सक्रिय बन्दै

बेझाड,(रासस) मंसिर १९/कुनै समय नेपाली समाजमा छोरी, बुहारी घरबाट बाहिर निस्के बिग्रन्छन् भन्ने गलत सोचाइ थियो । उनीहरु घरपरिवारबाट घरायसी कामकाजबाहेक अन्यत्र निस्कन पाउदैनन्थ्ये तर त्यही महिला हिजोआज भने सामाजिक क्षेत्रमा सक्रिय बन्न थालेका छन् । पुरुषको वर्चस्व रहेको समाजमा दबिएर बसेका महिला पछिल्लो समय आफ्नो हक र अधिकारका निम्ति समाजमा हुने विभिन्न क्रियाकलापमा उनीहरु सरिक हुन थालेका हुन् । यसले गर्दा ग्रामीण भेगका महिलामा चेतनाको विकास बढ्दै गएको छ । रामपुर नगरपालिका–४ दर्छा खरक गाउँ बस्ने मधु राना पहिला श्रीमान्, सासू ससुराको डरले घरभित्रै खुम्चिएर बस्नुप¥यो । अहिले समयको परिवर्तनसँगै उनी आफैँ सामाजिक क्षेत्रमा हुने विभिन्न गतिविधिमा सहभागी हुने र गाउँका महिलालाई सामाजिक कार्यमा निस्कन सल्लाह दिने गर्छिन् ।

‘पहिला त श्रीमान्, सासू ससुराले घरायसी कामबाहेक अरु काममा निस्कन दिनु हुन्नथ्यो, गाउँमा कसैका छोरी, बुहारी, श्रीमती बाहिर निस्किएका छैनन्, समाजले के भन्छ, फेरि महिलाको जात बाहिर निस्क्यो भने बिग्रन्छन् भन्नुहुन्थ्यो’, उनले भनिन् । ‘अहिले त घरपरिवारमा पनि परिवर्तन आएको छ, उहाँहरु आफैँले कुरा बुझ्नुभएको छ, छिटोछिटो घरको काम सकाएर सामाजिक क्षेत्रमा जाउ, केही न केही नयाँ कुरा सिकेर आउ भन्ने गर्नुहुन्छ’ हास्दै रानाले भनिन् । खुमाकुमारी राना पनि बिहान साँझ घरको काम सकाएर दिउँसो सामाजिक काममा निस्कने गर्छिन् । घरबाट बाहिर निस्कन थालेपछि धेरै कुरा सिक्न र बुझ्न पाएको उनि बताउँछिन् ।

गाउँमा घरधन्दा घाँसपात मेलापात गरेर जीवन बिताउने यहाँका महिला समयको परिवर्तनसँगै समाजमा हुने गरेका विभिन्न कार्यक्रम, बैठक, भेला, गोष्ठीमा सहभागिता जनाउने गरेका छन् । चेतनाको विकास बढ्दै जाँदा ग्रामीण भेगका महिलाले सामाजिक कार्यमा निस्कने अवसर पाएका हुन् । घरपरिवार श्रीमान्को डर, त्रासमा बसिरहेका महिलालाई अहिले नयाँ कुरा सिक्न र सामाजिक रुपान्तरणका लागि घरपरिवारबाटै सामाजिक कार्यमा लाग्न सहयोग मिलेको मनकुमारी राना बताउँछिन् । पुरुषको वर्चस्व बढिरहेको हाम्रो समाजमा महिलाले काम गर्ने अवसर पाए भने परम्परावादी गाउँघर समाजलाई नै रुपान्तरण गर्न सक्छन् ।

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *