चुनावी माहोलले छोएन कुमाल समुदायलाई

सुशिल नेपाल
पाल्पा, बैशाख ९/स्थानीय निर्वाचनको मिति घोषणासंगै जिल्लामा गाउँदेखि बजारसम्म चुनावी चहल–पहल बढेको छ ।
गाउँघरका चिया पसलदेखि चोक–गल्लीमा सर्वसाधारण चुनावका बारेमा चर्चा परिचर्चा गर्न थालेका छन् । गाउँघरदेखि बजारसम्म चुनावी चर्चा बढेपनि तानसेन नगरपालिकासंगै जोडिएको बगनासकाली गाउँपालिका १ चिर्तुङ्गधारा घोरवन्दाका कुमाल समुदायलाई भने चुनावी माहोलले छुन सकेको छैन । एक सय २० भन्दा बढी घर रहेको यहाँको कुमाल समुदायलाई चुनावभन्दा बढी परिवार, छोराछोरीको पेट भर्ने चिन्ता छ । विकासका दृष्टिले पछि परेको बताउँने यहाँका कुमाल समुदायले अहिले हुन लागेको निर्वाचन कस्तो हो, त्यसले ल्याउने परिवर्तन के हो भन्नेबारे अझै बुझ्न सकेका छैनन् । स्थानीय निकायको चुनाव के हो ? किन हुन लागेको छ भन्नेबारे जानकारी नभएको ६१ वर्षिय भक्तबहादुर कुमाल बताउँछन् । ‘पहिला पनि भोट दिएकै हो, भोट दिएर हामीलाई केही हुने हैन’, उनकी श्रीमति कान्छी कुमाल भन्छिन्– ‘ऋण तिर्नुपर्ने छ । अव त जसले ऋण तिरिदिन्छ उसैलाई भोट दिने हो ।’ स्थानीय निकायको निर्वाचनका लागि भोट माग्न अहिलेसम्म कोही पनि नआएको बताउने यी दम्पतिलाई मात्र होइन यहाँका अन्य कुमाल समुदायलाई पनि स्थानीय निकायको चुनावले कुनै रौनक ल्याएको छैन । ‘चुनावमा भोट माग्न मात्र आउँछन् अरु बेला मुख समेत देखाउँदैनन्, स्थानीय ५४ वर्षिय कुलबहादुर कुमाल भन्छन्– ‘जति भोट दिए नि विकास हुने होइन ।’ स्थानीयहरुले स्थानीय निकायको निर्वाचन भनेको के हो ? त्यसले ल्याउने परिवर्तन के हो भन्नेबारे अझै पनि बुझ्न नसकेको तामबहादुर कुमाल बताउँछन् । ‘हिजोमात्रै गाउँमा मतदाता शिक्षा कार्यक्रम भयो रे ? तर अधिकांश गाउँलेलाई थाहै भएन,’ उनले भने । गाउँमा पढेलेखेका व्यक्तिको संख्या अत्यन्त न्यून छ । बिहान बेलुका छाक टार्न यहाँका समुदायलाई दिनभरिनै काम गर्नुपर्दछ । अशिक्षाको कारणले गर्दा पनि यहाँका समुदायले निर्वाचनलाई महत्वका साथ नलिएको र यस्ता स्थानमा मतदाता शिक्षा प्रभावकारी रुपमा हुनुपर्ने तामबहादुरको भनाई छ । यो समुदायमा रौनक ल्याउन नसकेको स्थानीय निर्वाचनको मिति घोषणा भने नेता कार्यकर्ताका लागि ‘चाडपर्व’ जस्तो भइसकेको छ । अहिल्यै चुनावमा हुने तड्क–भड्क, आरोप–प्रत्यारोप, सन्तुष्टि– असन्तुष्टि पोख्ने कार्यकर्ताहरूको चहल–पहल बढ्न थालेको छ । निर्वाचन मिति घोषणासँगै जिल्लास्थित विभिन्न पार्टीले घरदैलो अभियान, आमसभा, कार्यकर्ता भेला, प्रशिक्षण जस्ता रणनीतिलाई तीब्र पार्दै लगेका छन् ।

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *