ग्रामीण भेगमा कालो बजारी मौलाउँदै, एक लिटर पेट्रोलको मूल्य तीन सय रुपैयाँ

भुवन रायमाझी
पाल्पा : देशमा संविधान जारी भएपछि भारतले नेपालमा अघोषित रुपमा गरेको नाकाबन्दीका कारण सहर, बजार र गाउँसम्म कालो बजारी मौलाएको छ ।
नाकाबन्दीका कारण बढी मात्रमा डिजेल, पेट्रोल र ग्याँसको हाहाकार भए संगै ग्रामीण बस्तीमा समेत यसको प्रभाव नराम्रोसंग चुलिँदै छ । अहिले पाल्पाको पश्चिम भेगमा लुकाइ छिपाइ राखेका केही व्यापारीले १ लिटर पेट्रोललाई तीन सय रुपैयाँ लिएर बिक्री गरेको गुनासो मोटरसाइक चालकहरु बताउँछन् । प्रशासनने बजारमा मात्र अनुगमन गर्दा पनि ग्रामीण भेगका व्यापारीलाई कालो बजारी गर्न सजिलो भएको उपभोक्ताहरु बताउँछन् । मनपरी मूल्यमा दैनिक उपभोग्यका सामान बिक्री हुँदासमेत प्रशासनको ध्यान गाउँ बस्तीमा पुग्न नसक्दा उपभोक्ताले महंगो मूल्य तिर्न बाध्य भएका छन् । अहिले गाउँमा आलु, नुन, तेल, चिनी लगायत दैनिक उपभोग्यका सामान इन्धन नपाएपछि गाडी नचल्दा ठप्प जस्तै भएको छ । पसलमा भएका सामान पनि व्यापारीहरुले मनपरी मूल्यमा बिक्री गरिरहँदा समेत जिल्ला प्रशासनदेखि क्रियाशील राजनीतिक दल, अधिकारकर्मीसमेत बेखबर छन् । न गाउँमा अनुगमन हुन्छ, न त कसैलाई कारवाही हुन्छ । यही कारण पनि गाउँमा गरिने व्यापारमा मनपरी तन्त्र भएको छ । जिल्ला सदरमुकाम तानसेनबाट पश्चिममा रहेका मुख्य व्यापारिक केन्द्र मानिएका हार्थोक, बतासे, छहरा, अर्गली, सोमादी, भुवनपोखरी लगायतका स्थानमा दैनिक उपभोग्य सामानको मूल्य आकासीदो छ । एक केजी आलुको मूल्य ६० देखि ७० रुपैयाँ पर्छ । डिजेल सहज रुपमा नपाए पछि सवारी साधनले समेत मनपरी भाडा लिएर यात्रु बोक्ने गरेका छन् । छहरा ५ अमलाबासका व्यापारी ईश्वर ज्ञवालीका अनुसार बुटवलबाट गाडी चढेपछि जुन स्थानमा झरे पनि अर्घाखाँचीे दुर्गाफाटको भाडा नतिरेसम्म गाडी चढ्न नपाएको गुनासो गरे । ग्रामीण भेगमा अहिले औषधीको समेत अभाव देखिन थालेको छ । नेपाली उत्पादन औषधीभन्दा भारतबाट आउने धेरै जसो औषधी मेडिकलमा नभएको मेडिकल सञ्चालक यमबहादर बुढाथोकी बताउँछन् । उनका अनुसार गाउँबाट आउने बिरामी र सुत्केरीलाई सवारी साधन नचल्दा ठूलो समस्या भएको बताए । बुटवल पाल्पा हँुदै पाल्पाको पश्चिम क्षेत्र हँुदै अर्घाखाँची चल्ने सयौं सवारी साधन चल्ने गर्थे तर डिजलको अभावमा दैनिक १० देखि १५ वटा मात्र बाटो गाडी चल्दा सर्वसाधारणले सास्ती पाएका छन् ।

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *