#गैरदलितले लगाए दलितको हातबाट टीका

गैरदलितले लगाए दलितको हातबाट टीका

रामचन्द्र रायमाझी
पाल्पा, कार्तिक ८/ नेपाली समाजमा दलित भन्ने वित्तिकै हेपा प्रवृत्तिले हेर्ने प्रचलन रहेको छ । दलित भएकै कारण गैरदलित समुदायले उनीहरुले छोएको पानी समेत खाना मान्दैनन् । एकाईसौ शताब्दीमा आइपुग्दा पनि अझै दलितहरु गैरदलितबाट अपहेलित जीवन विताईरहनु परेको छ । नेपालमा जातीय विभेद विरुद्धको कानुन भएपनि त्यसको कार्यान्वयन नहुँदा दलितहरु पिडित भइरहेका छन् ।

राजनीतिक दलहरुले सत्तामा पुगेपछि दलितका मुद्दा विर्सर्ने परिपाटीले गर्दा दलितको समस्या अझै समाधान हुन सकेको छैन । आधुनिक समयमा आईपुग्दा अझै पनि दलितहरु अपहेलित भईरहेका बेला गुल्मीमा एक गैरदलितले दलितको हातबाट दशैको टिका लगाएर दलितको सम्मान गरेका छन् । नेपाल सरकारका अधिकृत खेतबहादु्र खत्रीले गुल्मीका एक जेष्ठ नागरिकको हातबाट टीका लगाएका हुन् । रेसुङ्गा नगरपालिका–१२ दुबिचौरका खत्रीले दसैँ मान्न घर गएका बेला छिमेकी ८७ वर्षीय भक्तबहादुर दर्जीको हातबाट टीका लगाएका छन् । समतामूलक समाज निमार्ण गर्नखत्रीले परिवार सहित भक्तबहादुरको घरमा गएर दसैँको टीका र आशीर्वाद लिएका हुन् । समाजमा अझै पनि दलितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएकाले दर्जीको हातबाट टीका ग्रहण गरेको अधिकृत खत्रीले बताए । उनले भने ‘श्रीमति र छोरी सँगै पहिलोपटक छिमेकी जेष्ठ नागरिकबाट दशैको टीका र आशिर्वाद लिदाँ आनन्द महसुस भएको छ । ’

दशैंमा मान्यजनको हातबाट टीका लगाई आर्शिवाद लिने चलन अनुरुप दर्जीको हातबाट टीका र आर्शिवाद लिएको हुँ खत्रीले भने । आफू सानो छँदा भक्तबहादुरकै काखमा हुर्किएको सम्झँदै खत्रीले भने, ‘म सानो छँदा उनकै घरमा जाने, खाने, बस्ने गर्थेंउनकै काखमा हुर्किएँ । त्यसैले पनि उनको हातबाट टीका लगाउन पाउँदा निकै हर्षित भएको छु ।’ मावन मानव बीच विभेद गर्ने र्वतमान नेपाली समाजलाई गतिलो उदाहरण दिन सफल भएका छन् खत्री । समाज परिवर्तन गर्न आफुबाटै सुरुवात गर्नु पर्छ भन्ने मान्यतालाई अधिकृत खत्रीले आत्मासात गरेका छन् । वृद्ध अवस्थामा साहारविहिन जस्तै बनेका दर्जी भने खत्रीलाई टीका लगाईदिदा खुसी लागेको बताउँछन् ।

  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *