गुल्मीको मदाने गाउँपालिकामा स्वास्थ्य शिविर, २ हजार ६ सयले लिए सेवा

रमेश विश्वकर्मा
गुल्मी, बैशाख २/
जिल्लाको मदाने गाउँपालिकाको पुर्कोट दहमा वृहत निःशुल्क स्वास्थ्य शिविर भएको छ । गाउँपालिकाको आयोजनाम भएको शिविरमा गाउँपालिकामा रहेका सातवटै वडाबाट २ हजार ६ सय ३७ जनाले सेवा लिएका थिए । जसमा पुरुष १ हजार ६० र महिला १ हजार ५ सय ७७ जनाले सेवा लिएको गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोख्रेलले जानकारी दिए । जनताहरु स्वास्थ्य परिक्षण गराउन बुटवल, काठमाण्डौ धाउने, अनावश्यक खर्च हुने भएकाले, त्यसको मध्यनजर गर्दै गाउँपालिकाले घरआगनमै सेवा प्रवाह गर्ने उद्देश्यले यो शिविरको सञ्चालन गरेको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए । जनताले आफ्नै घर आगनमा निःशुल्क स्वास्थ परीक्षण गराउँन पाउँदा हर्षित भएका छन् । देशका प्रतिष्ठित अस्पतालमा कार्यरत दक्ष अनुभवी डाक्टरहरुबाट मुटु रोग, नाक, कान, घाँटी, छाला, आँखा, मानसिक नशा रोग, हाडजोर्नी तथा भिडियो एक्स–रे लगायतका दर्जनौँ सेवा प्रदान गरिएको थियो । शिविरमा २० जना विषय विशेषज्ञ डाक्टरहरुको टोलिले स्वास्थ्य परीक्षण गरेका हुन् । शिविरमा बिरामिहरुलाई निःशुल्क औषधि प्रदान गरिएको थियो । स्थानीय सरकारको अनुभूति दिलाउने गरी गाउँपालिकाले आफ्ना कार्यहरु निरन्तर रुपमा अगाडि बढाउने काम गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •