खाद्य स्वच्छता कायम राख्न होटलहरुको स्तरीकरण, तानसेनका १९ वटा होटलमा स्टिकर टाँस

रामचन्द्र रायमाझी
पाल्पा, असार २७/तानसेनका २६ वटा होटल तथा रेष्टुरेण्टहरुको स्तरीकरण गरिएको छ । खाद्य स्वच्छता कायम राख्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पा र स्थानीय खाद्य स्वच्छता समूहको टोलीले तानसेनका होटल तथा रेष्टरेण्टहरुको निरीक्षण गरी स्तरीकरण गरेको हो ।

निरीक्षण गरिएका २६ वटा होटल तथा रेष्टुरेण्टहरु मध्ये ४ वटालाई ख वर्गको उत्तम होटलको रुपमा स्तरीकरण गर्दै दुई तारे हरियो स्टिकर टाँस गरेको छ । त्यस्तै १० वटालाई ग वर्गको सन्तोषजनक रहेको भन्दै एक तारे हरियो स्टिकर टाँस गरेको छ भने, ५ वटा होटल तथा रेष्टुरेण्टहरुलाई घ वर्गको सामन्य होटलको रुपमा विना तारा पहेलो स्टिकर टाँस गरेको छ । ७ वटा होटल तथा रेष्टुरेण्टहरुले न्यूनतम मापदण्ड पूरा नगरेकाले सुधार गर्नुपर्ने भन्दै कुनै पनि स्टिकर प्रदान नगरिएको र स्तरीकरणको प्रमाणपत्र भने प्रदान गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख नरेश श्रेष्ठले जानकारी दिए । खाद्य स्वच्छता कायम गरी गुणस्तरीय प्रवद्र्धन गर्न खाद्य स्वच्छताको आधारमा होटल स्तरीकरण तथा लोगो वितरण कार्यक्रम अन्र्तगत गुण नियन्त्रण डिभिजन कार्यालयले स्थानीय खाद्य स्वच्छता समूहको सहकार्यमा अभियान सञ्चालन गरेको हो । अभियानको तानसेन नगरपालिकाका उपमेयर लक्ष्मीदेवी पाठक र स्थानीय खाद्य स्वच्छता समूहका जिल्ला अध्यक्ष जीवलाल सुवेदीले संयुक्त रुपमा शुभारम्भ गरेका थिए ।

अभियानको शुभारम्भ गर्दै उपमेयर पाठकले खाद्य वस्तुको स्वच्छता कायम गरी सर्वसाधारण उपभोक्ताको स्वास्थ्य स्वस्थ राख्न अभियानले महत्वपूर्ण टेवा पुग्ने बताईन् । उनले होटल व्यवसायीहरुलाई व्यवसायी सञ्चालन गर्नमा थप हौसल्ला समेत प्रदान हुने विश्वास व्यक्त गरिन् । स्थानीय खाद्य स्वच्छता समूहका जिल्ला अध्यक्ष सुवेदीले संविधानले नै उपभोक्ता अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गरेकाले खाद्य स्वच्छता र गुणस्तरीयतालाई केन्द्र बिन्दुमा राखेर होटल व्यवसायीले होटल सञ्चालन गर्नुपर्ने बताए । उनले भने ‘तानसेनका होटल व्यवसायमा गरिने सेवा प्रभावहमा गुणस्तर अभिवृद्धि गर्न, खाद्य वस्तुको स्वच्छता कायम गरी सर्वसाधारण उपभोक्ताको स्वास्थ्य र सुविधा कायम गर्न, होटल तथा रेष्टुरेण्टहरुमा स्वच्छ प्रतिस्पर्धा कायम गराउन, होटलहरुले प्रदान गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्दै लैजाउन होटलहरुको स्तरीकरण कार्य महत्वपूर्ण रहने छ ।’ होटलकोे स्तर वर्गीकरण गर्दा खाद्य स्वच्छताको ५० सूचकमा ९० देखि माथि अंक ल्याउने होटललाई ३ तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टिकरको स्तरीकरण लोगो प्रदान गरिन्छ । तानसेनमा भने यो लोगो कुनै पनि होटलहरुले प्राप्त गर्न सकेका छैनन् । त्यसैगरी ८० –९० अंक ल्याउनेलाई २ तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टिकर, ६५ देखि ७९ सम्मको अंक ल्याउने १ तारा र (ग) सहित सन्तोषजनक हरियो स्टिकर, ५० देखि ६४ अंक ल्याउनेलाई सामान्य (घ) सहित सामान्य लेखिएको पहेलो स्टिकर प्रदान गर्ने गरी खाद्य स्वच्छता स्तर निर्धारण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख श्रेष्ठले बताए । ५० भन्दा कम अंक ल्याउने होटल तथा रेष्टुरेण्टलाई स्टिकर दिने व्यवस्था नभएको श्रेष्ठले जानकारी दिए । खाद्य स्वच्छताको ५० सूचकलाई प्रतिसुचक २ अंक आधार मानी होटल तथा रेस्टुरेण्टहरुको स्तरीकरण गरी लोगो वितरण गरिएको छ ।
खाद्य स्वच्छता समूहमा होटल रेष्टुरेण्ट व्यवसायी संघ संस्थाको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि अध्यक्ष, खाद्य व्यवसायीहरुको महासंघले तोकेको स्थानीय प्रतिनिधि, उपभोत्ता हक हित सम्वद्ध सस्थाका प्रतिनिधि, इलाका÷वडा प्रहरी कार्यालयका प्रतिनिधि, स्थानीय तहको प्रतिनिधि, स्थानीय सेवा प्रदायक खाद्य व्यवसाय सञ्चालक सदस्य र खाद्य अनुसन्धान अधिकारी वा खाद्य निरीक्षक सदस्य सचिवको रुपमा रहने व्यवस्था निर्देशिकाले गरेको छ । सोही अनुरुप तानसेनमा होटल व्यवसायी संघको संयोजकमा पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, तानसेन नगरपालिका, जिल्ला प्रहरी कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनले होटल स्तरीकरण अभियानलाई अगाडि बढाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *