खरको छानो मुक्त बनाउने अभियानमा स्थानीय तह

रामचन्द्र रायमाझी
पाल्पा, वैशाख २/स्थानीय सरकार निर्माण भएसँगै स्थानीय विकास निर्माणका कामले प्राथमकिता पाएका छन् । लामो समयसम्म जनप्रतिनिधि विहिन हुँदा जिल्लाका विकास निर्माणका कामले गति लिन नसकिरहेका बेला जनप्रतिनिधि आएपछि भने जनतामा केही आशा पलाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पा जिल्लामा स्थानीय सरकारहरुले आ–आफ्नै ढङ्गले विकास निर्माणका कामलाई अगाडि बढाएका छन् ।
जिल्लाका अतिपय स्थानीय तहहरुले विकास निर्माणको काम विपन्न बस्तीबाटै सुरुवात गरेका छन् । विपन्न वर्गको क्षेत्रमा आएको परिवर्तन नै विकास हो भन्ने कुरालाई आत्मसाथ गर्दै केही स्थानीय तहहरुले विपन्नको बस्तीबाटै विकासको सुरुवात गरेका हुन् । अझै पनि ग्रामीण बस्तीका विपन्न घरहरु खरको छानाका कारण आगलागिको उच्च जोखिममा रहेकाले खरको छाना हटाई जोखिममुक्त गाउँपालिका बनाउने अभियानमा जिल्लाका केही स्थानीय तहहरु लागेका छन् । रकम अभावमा जस्ता पाता खरिद गर्न नसकेर खर तथा परालले छाना छाइरहेका सबैको घर गाउँपालिकाले बजेट नै छुट्याएर जस्ता पाताले छाइदिने अभियान नै थालेका हुन् । बगनासकाली गाउँपालिकाले जिल्लामै पहिलो पटक खरको छाना मुक्त गाउँपालिका बनाउने अभियान सञ्चालन गरेको थियो । गाउँपालिकाले आगलागीको उच्च जोखिममा समेत रहेकाले खर हटाएर जस्ता पाता लगाउने अभियानलाई गत वर्षदेखि नै सञ्चालन गरेको हो । अहिले सम्म १ सय ३८ विपन्न घर परिवारलाई जस्तापाता वितरण गरिसकेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । उनले आगामी २०७६ भित्र बगनासकाली गाउँपालिकालाई खरको छाना मुक्त गाउँपालिका घोषणा गरी समृद्ध गाउँपालिका बनाउने अभियानमा गाउँपालिका लागेको जानकारी दिए । माथागढी गाउँपालिकाले पनि गत वर्ष र अहिले गरी १ सय ५० घरलाई जस्तापाता दिइसकेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । गत वर्षको तथ्याड्ढ अनुसार गाउँपालिकामा १४ सय १६ घरमा खरको छाना रहेको अध्यक्ष थापाले जानकारी दिए । तिनाउ गाउँपालिकाले पहिलो चरणमा ५६ घर परिवारलाई जस्तापाता वितरण गरेको अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए । गाउँपालिकामा ४ सय घर फुसका छाना भएका छन् । हावाहुरीका कारण फुसको छानोमा आगलागी हुने भएकाले उनीहरुलाई घर छाउनको लागि फुसको छानो हटाउने कार्यक्रम अन्तर्गत जस्तापाता वितरण गरिएको अध्यक्ष घर्तीले जानकारी दिए ।
रम्भा गाउँपालिकाले पनि खरको छानो विस्थापित अभियान अगाडि बढाएको छ । गाउँपालिकामा रहेका ३० घरलाई खरको छानो विस्थापित गर्न लागिएको अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । उता रामपुर नगरपालिकाले पनि गत वर्ष १ सय ४७ घरलाई जस्तापाता वितरण गरेको थियो । यस वर्ष ३ सय ५० घरलाई जस्तापाता दिने कार्यक्रम अगाडि बढाइएको नगरप्रमुख रमणबहादुर थापाले बताए । रिब्दीकोट र रैनादेवी गाउँपालिकाले पनि खरको छाना मुक्त गाउँपालिका बनाउने अभियानलाई अगाडि बढाएका छन् ।

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *