कालीगण्डकी किनारका व्यक्तिको दाउराको मुख्य स्रोत नदी, दाउरा बेचेरै मनग्य आम्दानी

इमान सिं राना
पाल्पा (राम्दी), भदौ ९/प्रदेश पाँच र गण्डकी प्रदेशलाई जोड्ने पाल्पा–स्याङ्जाको सीमानामा रहेको राम्दी पुल भन्दा तल कालीगण्डकी किनारमा स्थानीयहरु लहरै देखिन्थे । परबाट लामो लौरी समाएका स्थानीयहरु देख्दा लाग्थ्यो बल्छी खेलिरहेका छन् । तर वास्तविकता फरक थियो । उर्लिदै आएको भेलमा स्थानीहरुले माछा होइन लामो अंकुशेको सहायताले बगाउँदै ल्याएका काठ तथा दाउरा निकालेका रहेछन् । पहिलो पटक झट्ट देख्नेहरुको लागि यो नौलो होला तर वर्षाद्को समयमा राम्दी घाट वरिपरी बसोवास गर्ने स्थानीयहरुको यो नियमित काम हो ।
पाल्पाको बगनासकाली ४ र ५, स्याङ्जाको गल्या· १ का स्थानीयहरुले नदीमा आएको भेललाई दाउराको मुख्य स्रोत बनाउँदै आएका छन् । पाल्पातर्फका स्थानीयहरुले राम्दी पुलभन्दा तल घाट नजिकैको घुमारीमा र स्याङ्जाका स्थानीयहरुले रामनदी धाम भन्दा तलको घुमारीबाट काठ दाउरा निकाल्ने गर्दछन् । नदीले बगाउँदै ल्याएको दाउरा स्थानीयले घरायसी प्रयोजनसंगै विक्री गरी राम्रो आम्दानी समेत लिदै आएका छन् । नदी किनारमा अंकुश, डोरी लिएर बसेका स्थानीहरुले अंकुशको सहायताले दाउरा बाहिर निकालेर थुप्रो बनाउँछन् भने ठूलो काठहरु आएमा किनारमा ल्याई डोरीले बाँधेर राख्छन् । उनीहरुले लामा काठ आएमा आराको सहयोगमा टुक्राएर थुप्रो पारेर राख्ने गर्दछन् । नदी घटेपछि घाम लागेको समयमा दाउरालाई चिरेर ट्याक्टरमा राखेर घरसम्म ल्याउने गर्दछन् ।

स्थानीयहरुले नदीबाट निकालेका दाउरा घाटमा शव दहनका लागि समेत विक्री गर्ने गर्दछन् । स्थानीय मानबहादुर दर्लामीले वर्षाद्को भेलमा आएको दाउरा नै इन्धनको मुख्य स्रोत भएको बताउँछन् । उनले भने, ‘आफ्नो वनमा दाउरा खासै पाइदैन, अरुकोमा चोर्न जान भएन, हामीहरुको दाउराको मुख्य स्रोत नै यही नदीको भेल हो । साथै दर्लामीले वर्षादको समयमा व्यापार नभएको समय र कामको फुर्सद भएमा भेल आउँदा घरको परिवार नै दाउरा जम्मा गर्न जाने गरेको बताए । उनले केही स्थानीयहरुले भने घरको लागि पु¥याएर विक्री गर्ने गरेको बताए । एक परिवारले वर्ष भरीमा ३०÷४० हजारदेखि एक लाखसम्मको दाउरा विक्री गर्ने गर्दछन् । राम्दी घाटसंगै कालीनदीका विभिन्न स्थानहरुमा यसरी नै जोखिम मोलेर दाउरा संकलन हुँदै आएको छ ।