कारागार बन्यो सीप विकास केन्द्र

हाम्रा संवाददाता
गुल्मी, गुल्मी कारागार उद्योग तथा सीप विकास केन्द्र बनेको छ । कारागारमा रहेका व्यक्तिहरुले कामले दाम मात्रै दिएको छैन, व्यस्त हुँदा दिमागले नानाथरी कुरा सोंच्ने फुर्सद नपाउने रहेछ भन्ने गर्छन् ।
करणीको मुद्दामा ८ वर्षअघि जेल चलान हुँदा हाडहाडे ४ का बासु खत्री खुकुरी लिएर बाँसका कप्टेरालाई सुइरा बनाउन खुर्किन्छन् । ती सुइरामा प्लास्टिकको धागो र साइकलका पुराना टायर पनि उपयोग गरी जब मुडा बुन्न थाल्छन् उनलाई दिन बितेको पत्तै हुँदैन । कारागारमा बुनेका मुडाहरुले बजारको आफ्नै नाम ‘कारागारका मुडा’ भनेर परिचित छन् । गुल्मी तम्घासका किराना व्यवसायी प्रकाश सारुको पसलमा आएका प्रत्येक व्यक्तिको आँखा मुडामा जान्छ अनि त्यो मुडा देखेपछि ग्राहकहरुले उनलाई सोध्ने गर्छन् ‘कारागारका हुन् कि होइनन्’ ‘कारागारकै भनेपछि खुशीले किन्छन् ।’ कारागारका मुडाले जिल्लाभर ख्याती कमाएको उनले बताए । यस्तै हाडहाडेकै वासु चन्द पनि कारागारका राम्रो ढाका बुन्ने कैदीमा पर्छन् । उनलाई कैद सजाय भुक्तानसँगै ढाका र टोपी बुनाई जीवन बदल्ने राम्रो सीप भएको छ । उनले दुई दिनमा ढाकाको एउटा पछयौरा तयार गर्छन् । उनले भने, ‘जेल आएपछि बाँकी जीवन बदल्न सीपले सोंचमा परिवर्तन गराएको छ ।’ कारागारमा कृषि उत्पादन समेत हुने गरेको छ । कृषि उत्पादनमा प्याज, गोभी, साग, बन्दा, काँक्रा, करेला जस्ताको बिरुवाहरु उत्पादन गर्ने र विक्री वितरण गर्ने गरिन्छ । तम्घास कारागार कैदीबन्दीका लागि सजाय भुक्तानको सास्ती भएको ठाउँको साटो सीप विकास केन्द्र जस्तै बन्न थालेको छ । कारागार प्रशासनले कैदीबन्दीलाई कैद भुक्तानको समयमा सीपयुक्त बनाउने गरी २०६० देखि सीप सिकाउन थालेको थियो । कारागार प्रमुख गोपालप्रसाद पाण्डेका अनुसार पछिल्ला ४ वर्षमा धेरै कैदीबन्दीले सीप सिक्ने अवसर पाएका छन् । ‘उत्पादन भएका कुनै सामग्रीले बजार पाएन भन्ने गुनासो छैन,’ उनले भने, ‘खोज्दै कारागारमै आउने थुप्रै छन् ।’ अन्य उत्पादनको तुलनामा मुडा र तरकारीका बिरुवाको बढी खोजी हुने गरेको छ । कारागार भित्र उद्योगका रूपमा प्रयोग हुने गरेका सबै सामग्री कैदीबन्दी आफ्नै लगानीका हुन् । कारागारमा अहिले ७ महिला सहित ६६ कैदीबन्दी छन् । कारागारका चौकीदार दीपक चन्दका अनुसार कैदीबन्दीले वार्षिक २७ लाख रुपैयाँसम्मको कारोबार गर्छन् । ‘जानअन्जानमा भएका गल्ती बिर्साउँदै नयाँ सिर्जना गरी बस्ने अवसर बनेको छ,’ उनले भने, सीप सिकेपछि पुरानो कुरा सम्झेर एकान्तमा बसेर टोलाउनुपर्ने, चिन्ता लिनुपर्ने वातावरण कारागारमा छैन ।

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *