करको दायरामा ल्याउन पाल्पामा अनुगमन

हाम्रा संवाददाता
पाल्पा, जेठ ३/कतै तपाईले सञ्चालन गर्दै आएको उद्योग, व्यापार व्यवसायको हिसाव किताब अपारदर्शी ढङ्गले राख्नु भएको त छैन ? यदि राख्नु भएको छ भने ख्याल गर्नुहोस् । तपाईले सञ्चालन गर्दै आएको उद्योग, व्यवसायीको अनुगमन भइरहेको छ । सरकारले पारदर्शी, स्वच्छ तथा तटस्थ कर प्रणालीको माध्यमबाट स्वेच्छिक कर सहभागिताको प्रवद्र्धन गरी ‘हामीले तिरेको कर हाम्रै विकासका लागि, आधुनिक र समृद्ध नेपाल निर्माणका लागि’ भन्ने मान्यता स्थापित गर्दै विवेकशील करका दरबाट करको आधार र दायरालाई फराकिलो बनाई आन्तरिक राजस्व परिचालनलाई अभिवृद्धि गर्ने उद्देश्यले अनुगमन थालेको छ ।

व्यापार व्यवसाय गर्ने व्यक्ति तथा संघ–संस्थाहरुले कामको प्रभावकारी र पारदर्शी ढङ्गले कार्य सम्पादन गर्न नसक्दा कर छली गर्ने प्रवृत्ति बढ्दै गए पछि त्यसको नियन्त्रणका लागि सरकारले अनुगमन र नियमन कार्यलाई तीव्रता दिएको हो । सोही क्रममा पाल्पामा पनि करदाता सेवा कार्यालयले उद्योग, व्यवसायी, फर्म, कम्पनीहरुको अनुगमन कार्यलाई तीव्रता दिएको छ । कार्यालयले टोली नै खटाएर बिल विजकको अनुगमन थालेको हो । विगतमा प्रभावकारी अनुगमन हुन नसक्दा जिल्लामा सञ्चालित औद्योगिक, व्यापारिक र व्यावसायिक प्रतिष्ठानहरुले कर छली गर्ने क्रम बढ्दो रहेका बेला करदाता सेवा कार्यालयले अनुगमन कार्यलाई अगाडि बढाएको छ । बजारमा हुने कारोबारको अनुपातमा कर छली रोक्न अनुगमन कार्यलाई तीव्र पारिएको कर अधिकृत सागर पोखरेलले जानकारी दिए । कार्यालयले जिल्लाको हार्थोक, रिब्दीकोट गाउँपालिका भित्रका बजार, ग्रामीण क्षेत्र र तानसेन नगरका केही स्थानमा रहेका औद्योगिक, व्यापारिक र व्यवसायिक प्रतिष्ठानमा अनुगमन गरिसकेको छ ।
करको दायरामा नआएका र कर छल्ने माथि अनुगमन गरिनुको साथै कर सम्बन्धी अभियान समेत सञ्चालन गरिएको कर अधिकृत पोखरेलले बताए । कर दाताहरुले स्थायी लेखा नम्बर लिए, नलिएको, मूल्य अभिवृद्धि कर ऐन अन्तर्गत बिल विजक जारी गरे, नगरेको, खरीद बिक्री खाता राखे, नराखेको, कर कानुनको परिपालना गरे, नगरेको लगायतका क्षेत्रमा कर प्रशासनले अनुगमन गरेको छ । त्यस्तै तानसेनका अधिकांश सुटिङ्ग, सर्टिङ्ग सहितका टेलर व्यवसायीहरु करको दायरामा नआएको, बिल विजक जारी नगरेको, खरिद बिक्रीको यथार्थ अभिलेख नगरेको भन्ने जनगुनासो आएपछि गत साता देखि कार्यालयले उक्त व्यवसायलाई समेत करको दायरामा लिन अनुगमन गरेको छ ।
जिल्लाका करदाताहरुलाई कर परिपालन गराउनको लागि नियमित बजार अनुगमन गरिने कर अधिकृत पोखरेलले बताए । उनले नियमित अनुगमन गर्दा विलिङ प्रणालीमा सुधार हुने विश्वास व्यक्त गरे । अनुगमनको क्रममा प्यान, भ्याट दर्ता भए , नभएको हेर्ने, यदि भएको भए कर तिरे नतिरेको हेर्ने, जरिवाना गराउने र कैफियत देखिए खाता ल्याएर अध्ययन गर्ने काम भईरहेको कर अधिकृत पोखरेलले जानकारी दिए । अनुगमनका क्रममा नियम विपरीत कार्य भएको पाईएमा पहिलो पटक सम्झ्याई बुझाई गर्ने र पटक पटक त्यस्ता किसिमका गतिविधी नरोकिए कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाईने कार्यालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *