कठोर र प्रिय भूमिका प्रहरीले निभाउनुपर्छ : महानिरिक्षक अधिकारी

इमान सिं राना
पाल्पा(रामपुर), जेठ २९/
प्रदेश पाँच प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले प्रहरीले कठोर र प्रिय दुवै भूमिका निभाउनु आवश्यक रहेको बताएका छन् । रामपुर ३ गण्डकी ढिक स्थित प्रहरी चौकी केलादीको नवनिर्मित कार्यालय तथा मेश भवनको बुधबार उट्घाटन गर्दै अधिकारीले अपराधीहरुका बीच कानुनी रुपमा कठोर र समुदायका न्याय प्रेमी मानिसहरुका लागि प्रिय जस्ता दुवै भूमिका प्रहरीले निर्वाह गर्नु पर्ने बताएका हुन् । उनले प्रहरीसँग फट्याई गरेमा कार्वाही गर्न सक्ने, समुदायका समस्या बुझेर समाधन गर्न सक्ने गुण हुनु पर्ने बताएका हुन् । महानिरिक्षक अधिकारीले कानुन सबै भन्दा माथि रहेको भन्दै कानुन विपरित कार्य गर्न कसैलाई छुट नभएको बताए । उनले भने, ‘हामी कानुनी शासन भएको मुलुकमा छौं । त्यसैले कानुनले सबैलाई बराबरी रुपमा हेरेको हुन्छ ।’ अधिकारीले रामपुर द्रुत गतिमा विकास भैरहेको अवस्थामा समाजमा विभिन्न समस्याहरु निम्तन सक्ने भन्दै त्यसको लागि नै प्रहरी चौकी स्थापना गरिएको उल्लेख गरे । साथै उनले प्रविधिले फड्को मारिरहेको अवस्थामा प्रहरीले पनि आफ्ना सेवालाई प्रविधि मैत्री बनाउनु आवश्यक रहेको बताए । उनले प्रदेश प्रहरी कार्यालयले पनि प्रविधिको प्रयोगमा जोड दिएको बताए ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले रामपुर नगरको बढ्दो शहरीकरण संगै हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरण तथा शान्ति सुव्यवस्थाका लागि चौकीले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । उनले प्रहरी संख्यामा थप गर्न नसकिए पनि दरबन्दी अनुसारको पदपुर्ति गर्न सके पनि राहत हुने बताए । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक विश्व मणि पोखरेलले प्रभावकारी अपराध अनुसन्धान र नियन्त्रण गरी मानव अधिकारको रक्षामा प्रतिवद्ध भई प्रहरी नागरिक केन्द्रित हुनु पर्ने बताए । उनले जिल्ला प्रहरी कार्यालय पाल्पाले समुदायसँग सहकार्य गर्दै अघि बढेको बताए । कार्यक्रममा रामपुर ३ का वडा अध्यक्ष दिनेश कुमार खनाल, भवन निर्माणका अभियन्ता उमनाथ अर्याल र नागरिक समाजका छवि खनाल लगायतले बोल्दै पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरको संगममा रहेको केलादी चौकीको सेवा क्षेत्र अनुसार प्रहरीको दरबन्दी पुर्ति गर्नु आवश्यक रहेको बताए ।

२०१२ सालमा स्थापना भएको केलादी प्रहरी चौकी इलाका प्रहरी कार्यालयमा रुपान्तरण भएर रामपुर स्थानन्तरण भएको थियो । २०६३ साल मंसिर २४ गते स्थानीयहरुको माग पछि अस्थाई प्रहरी चौकी स्थापना गरिएको थियो । सोही चौकीलाई २०७० मा स्थायी बनाइएको हो । स्थानीयहरुले ३ रोपानी जग्गा उपलब्ध गराए पछि निर्माण प्रक्रिया अघि बढेको थियो ।

नवनिर्मित भवनको नेपाल सरकार गृहमन्त्रालयका तत्कालीन सचिव एवं नेपाल सरकारका वर्तमान मुख्य सचिव लोकदर्शन रेग्मीले २०७३ सालमा शिलन्यास गरेका थिए । नेपाल प्रहरी प्राविधिक सहायता समूहका प्रमुख प्रहरी निरिक्षक सुमन दाहालले नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्माण अन्तर्गत १ करोड ८ लाख ३५ हजार ९ सय १६ रुपैयाँमा निर्माण सम्पन्न भएको बताए । उनले रेग्मी कन्ट्रक्सन पाल्पाले १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी २०७३ चैत्र ९ गते जिल्ला प्रहरी कार्यालय संग १ करोड १५ लाख ४६ हजार ६ सय ४ रुपैयाँ १६ पैसामा सम्झौता गरे पनि विविध कारणले तीन पटक म्याद थप गरी २०७५ माघ १० मा सम्पन्न गरेको थियो ।

जस अन्र्तगत आरसीसी अवधारणा अनुसार २ तले कार्यालय भवन, एक तले भान्सा घर, बाथरुम र शौचालय सहित प्रतिक्षालय, पार्किङ्ग स्थल र गार्ड पोष्ट पनि निर्माण भएको थियो । कार्यक्रमको अवसरमा जग्गादाता मनि कुमारी पाठक, पारेश्वर भण्डारी, ज्ञानीलाल रिमाल, पौष नारायण श्रेष्ठ लगाएतलाई सम्मान समेत गरिएको थियो । इलाका प्रशासन कार्यालय रामपुरका शाखा अधिकृत अशोक कुमार आचार्यको स्वागत,जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरिक्षक गणेश विश्वकर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •