उद्योगी व्यवसायीहरुको लागि करदाता शिक्षा

इमानसिं राना
पाल्पा (रामपुर), असार ८/उद्योगी व्यवसायीहरुको लागि रामपुरमा करदाता शिक्षा प्रदान गरिएको छ । रामपुर उद्योग वाणिज्य संघले रामपुर नगरपालिका वडा ५ को आर्थिक सहयोग र करदाता सेवा कार्यालय तानसेनको समन्वयमा करदाता शिक्षा प्रदान गरेको हो ।

कर शिक्षा प्रदान गर्दै करदाता सेवा कार्यालय तानसेनका प्रमुख सागर पोखरेलले राष्ट्र निर्माणको मुख्य आधार कर भएकाले साना तथा ठूला व्यवसायीहरु सबैलाई कारोबार अनुसार करमा आउन आग्रह गरे । उनले कर तिरेर ढुक्क भएर मर्यादित तरिकाले व्यवसाय सञ्चालन गर्न सकिने बताए । कार्यक्रममा रामपुर नगरपालिका वडा ५ का वडा अध्यक्ष हिमाल मल्लले नगरको बस्ती विस्तारसंगै उद्योग तथा व्यवसाय सञ्चालनको संख्या बढ्दो अवस्थामा रहेकाले करप्रति सकारात्मक बनाउन उद्योग वाणिज्य संघ कार्यक्रम गर्दै आएको बताए ।

उनले रामपुर नगपालिकाले पनि कर वृद्धि नगरी दायरा बढाउने नीति लिएको जनाए । रामपुर उद्योग वाणिज्य संघका सल्लाहकार एवं वडा ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले विगतको तुलनामा करमा समाहित हुने व्यवसायीको संख्या वृद्धि भएपनि अझै केही व्यवसायीमा कर प्रतिको धारणा परिवर्तन आउन नसकेकाले बेला–बेलामा कर शिक्षा तथा अनुगमन हुनु आवश्यक रहेको बताए ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले व्यवसायीहरुलाई कर समयमा नतिर्दा हुने क्षतिबाट सजग बनाउन र कर कार्यालय बिचको सम्बन्ध सुमधुर बनाउन संघले समय समयमा कार्यक्रम गर्दै आएको बताए । रामपुर उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा करदाता सेवा कार्यालय तानसेनका प्रमुख सागर पोखरेल र नायव सुब्बा मेखबहादुर थापाले सरकारले निर्धारण करका मापदण्ड, समावेश हुने माध्यम, पान, भ्याटमा समावेश हुँदा हुने फाइदा, कर तिर्ने समय, कुन व्यवसायमा कति कर लगाएका विषयमा जानकारी दिएका थिए ।
रामपुर क्षेत्रका उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रममा अन्तक्र्रिया समेत भएको थियो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रम वाणिज्य उपाध्यक्ष दुर्गाप्रसाद भट्टराईको स्वागत, उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठको धन्यवाद र महासचिव खिमबहादुर केसीको सञ्चालनमा भएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •