आज रङ्गै रङ्गको पर्व होली मनाइदैं

पाल्पा

शर्मिला थापा मगर, फागुन १७/आज फाल्गुण शुक्ल पूर्णिमाको दिन अर्थात् फागू पूर्णिमा होली पर्व । रङ्गै रङ्गको पर्व फागु पूर्णिमा आज काठमाडौं उपत्यका लगायत देशभरका पहाडी क्षेत्रमा उल्लासपूर्वक मनाईदै छ ।  तराईमा भने होली पर्व भोलि मनाइन्छ । बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेको फागु पर्व अर्थात् होली धुमधामका साथ मनाउने प्रचलन रहेको छ । रंगको यस पर्वमा युवा युवतीदेखि सबै उमेर समूहका व्यक्ति सहभागी हुने गर्छन् ।

धार्मिक मान्यताअनुसार, दैत्यराज हिरण्यकश्यपुले आफ्ना छोरा प्रहलादलाई मार्ने उद्देश्यले ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रहलादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए । तर आगोमा होलिका आफैं भष्म भइन् विष्णुभक्त प्रहलादलाई आगोले छोएन । त्यसै बेलादेखि हिन्दु धर्मावलम्बीहरु आसुरी शक्तिमाथि ईश्वरी शक्तिको विजयका रुपमा यो पर्व मनाउने गर्दछन् । राम्रो तरिकाले तयार पारिएका रङ्ग र अबिर खेल्दा छालाको रोग समेत निको हुने आयुर्बेदमा उल्लेख छ । केहि वर्ष यता होली पर्व देशका विभिन्न गाउँ–गाउँमा पनि मनाउन  थालिएको छ  । यता पहाडी जिल्ला पाल्पाका विभिन्न स्थानमा पनि धुमधामका साथ होली पर्व मनाइदैछ । तानसेनको बसपार्क, पेटोलपम्प, बतासेडाँडा, प्रभास, हार्थोक, त्यस्तै रामपुरका विभिन्न क्षेत्र र गण्डकी बेसी क्षेत्रका विभिन्न स्थानमा आज विभिन्न कार्यक्रम गर्दै  होली खेलिदै छ । तराईमा मिथिलाको पौराणिक एवं ऐतिहासिक मध्यमा परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली मनाइने चलन छ ।

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *