अरबौको भ्रष्टचार हुँदा समेत सरकार मौन : सभापति राना

पाल्पा, चैत २९/नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले अरबौको भ्रष्टचार हुँदा समेत वर्तमान सरकार मौन रहेको बताएका छन् ।
शुक्रबार नेपाली काँग्रेस क्षेत्र नम्वर १ पाल्पाको प्रशिक्षण कार्यक्रमलाई रम्भा गाउँपालिकाको पिपलडाँडामा सम्बोधन गर्दै सभापति रानाले देशमा अर्बौँको भ्रष्टाचार हुँदा समेत सरकार मौन बसेको आरोप लगाएका हुन् । उनले जनताबाट बहुमत प्राप्त कम्युनिष्टहरु सरकारमा गएपछि भ्रष्टाचारीहरुलाई नियन्त्रण गर्नु सट्टा उल्टै संरक्षण गरेको बताए ।
सभापति रानाले देशमा सुशासन कायम हुन नसकेको भन्दै वाइडबडी विमान खरिद प्रकरण, एनसेल, बुढिगण्डकी जलविद्युत आयोजनामा अर्बौँअर्ब भ्रष्टाचार हुनु दूर्भाग्यपूर्ण रहेको धारणा व्यक्त गरे । उनले सरकारको पहिलो दायित्व जनतालाई शान्ति सुरक्षा प्रदान गर्नु रहेपनि देशमा हत्या हिंसा, बलत्कार, भ्रष्टाचार जस्ता जघन्य क्रियाकलापहरुलाई प्रश्रय दिदै आएकाले त्यसको विरुद्धमा काँग्रेसले खबरदारी गर्ने बताए । प्रदेश सांसद समेत रहेका रानाले दुई तिहाई प्राप्त सरकारले हिंसा, आतंका महंगी र भ्रष्टाचारको संरक्षण गरेकाले अब नेपाली जनता र काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । उनले वर्तमान कम्युनिष्ट सरकारले नक्कली राष्ट्रवाद र लोकतन्त्रको खोस्रो ओढेर लोकतन्त्रलाई धरापमा पार्न खोजेकाले त्यसबाट सजग रहन जनतालाई सचेत गराए । कार्यक्रममा महासमिति सदस्य दानबहादुर पछाईले वडास्तरबाटै अब काँग्रेस जुरमुराउनु पर्ने बताए । राष्ट्रिय मगर संघका जिल्ला सभापति झमनबहादुर राज मगरले सरकारले जनतालाई सुशासन र न्यायको प्रत्याभूति दिलाउन नसकेको आरोप लगाए । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि यमलाल तिमिल्सेनाले काँग्रेस एक ढिक्का भएर जानु आजको आवश्यकता रहेको औल्याए ।
कार्यक्रमा आदीवासी जनजाति संघका जिल्ला अध्यक्ष कृष्णबहादुर राना, काँग्रेस क्षेत्र १ का क्षेत्रिय सदस्य किशोर पंगेनी लगायतले पार्टी बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा पार्टीका सैद्धान्तिक,समसामयिक, भाषणकला, नेतृत्व विकासका विषयमा प्रमुख प्रशिक्षक पिताम्वर खनालले प्रशिक्षण दिएका थिए । कार्यक्रम क्षेत्रिय सभापति सन्तोष थापाको सभापतित्व, रम्भा गाउँपालिकाका संयोजक अशोक फालको स्वागत र क्षेत्रिय सहसचिव विष्णुप्रसाद थापाको सञ्चालनमा भएको थियो । सोही अवसरमा केशबहादुर रानाको अध्यक्षतामा नेपाल राष्ट्रिय मगर संघ गाउँपालिका कार्यसमिति गठन भएको छ । त्यस्तै राजकुमार श्रेष्ठको अध्यक्षतामा आदिवासी जनजाति संघ गाउँपालिका कार्यसमिति समेत गठन भएको नेपाल राष्ट्रिय मगर संघका जिल्ला सभापति झमनबहादुर राजमगरले जानकारी दिए ।

  • 40
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    40
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *