अमलाबासको लेक सल्लेरी सामुदायिक वनमा वृक्षारोपण

भुवन रायमाझी
पाल्पा : नेपाल भरीका १८ हजार सामुदायिक वनलाई उछिनेर प्रथम भएको पश्चिम पाल्पाको छहरामा रहेको अमलाबास लेक सल्लेरी सामुदायिक वनका उपभोक्ताले आफ्नो सामुदायिक वनलाई देशमा मात्र नभएर विश्वमा नै चिनाउने उद्देश्य राखेर आफ्नो सामुदायिक वनमा बिरुवा लगाउने कार्यलाई तिब्रता दिएका छन् ।
वनका सयौं उपभोक्ताको सक्रियतामा खाली भएका वनको जग्गा भित्र विभिन्न जातका जडीबुटीको वृक्षारोपण गरेका छन् । बिरुवा र जडिबुटीको उत्पादन गर्ने उद्देश्य राखेर स्थापना भएको यस वनले २०५५ सालदेखि निरन्तर रुपमा जडिबुटीको पहिचान र संरक्षण गर्दै आएको छ । विगतका वर्ष जस्तै यो वर्ष पनि सामुदायिक वनले ११ हजार रिठा, ३ हजार दालचिनी ५ हजार हर्रो, ३ हजार लप्सी र ५ हजार बर्रोका बिरुवा वृक्षारोपण गरेको सो वनका अध्यक्ष माधवप्रसाद घिमिरेले बताए । जिल्ला वन कार्यलय पाल्पाबाट पटक पटक पुरस्कार पाउन सफल यो सामुदायिक वन यो वर्ष १८ हजार सामुदायिक वनलाई उछिन्दै केन्द्रीय गणेशमान पुरस्कार समेत हात पार्न सफल भएको थियो । सामुदायिक वनमा प्रतेक वर्ष बहुमुल्य र लोप हुने अवस्थाका जडिबुटी बिरुवा रोप्दै जडिबुटीको संरक्षण गरी यसको प्रचार प्रसारमा लागेको यस वनले जानकारी दिएको छ । वनमा बिरुवा लगाउन पगेका ८० वर्षका नरबहादुर कामीले वनले आफूहरुलाई मात्र नभएर भोलिका सन्तानलाई समेत टेवा दिने बताए । वृक्षारोपण कार्यक्रममा बोल्दै वनका उपभोक्ताहरु नैना थापा, मानबहादुर गाहा, गोमा घिमिरे लगायतले पनि आफूहरुको वनले केन्द्रीय पुरस्कार पाएकोमा खुशि व्यक्त गर्दै खाली रहेका वनपाखामा वृक्षारोपण गरी हरियाली बनाएर जिल्ला केन्द्र हुँदै विश्वमा नै आफूहरुको वनलाई नमुना वन बनाउने बताए । यो सामुदायिक वनमा नेपाल मै नभएको २ सय ४० प्रकारका जडिबुटी पशिचान प्लट समेत रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *