‘अपाङ्गता भएकै कारण लाञ्छना लगाउनु गलत’

पाल्पा, भदौ ३/प्रदेश पाँचका सांसद डा.पुरनमान बज्राचार्यले अपाङ्गता भएकै कारण लाञ्छना लगाउनु गलत रहेको बताएका छन् । सिर्जनशील अपाङ्ग स्वाभलम्बन केन्द्रको सातौं वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै सांसद बज्राचार्यले अपाङ्गता भएकै कारण कोही पनि व्यक्तिलाई लाञ्छना लगाउन नहुने बताएका हुन् । उनले संविधानमा अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न आरक्षणहरुको व्यवस्था गरिएकाले कार्यान्वयनका लागि सरकार अगाडि बढेको बताए ।

कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले अपाङ्गता भएका व्यक्तिहरुलाई उद्यमशील कार्यमा लगाउन नगर सरकारले विशेष कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिए । उनले फरक क्षमता भएका व्यक्तिहरु संसारलाई उज्यालो बनाउने अभियानमा नगर सरकार लागि परेको बताए । अपाङ्गता भएका व्यक्तिहरु शारीरिक तथा मानसिक रुपमा संगठित भई योजनावद्ध कार्य गर्नुपर्नेमा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष मित्रलाल शर्माले जोड दिए । उनले दृष्टिविहिन, स्वर बोलाई, शारिरिक अपाङ्गता भएका व्यक्तिहरुले संविधान प्रदत्त हक तथा अधिकार प्राप्तिमा कठिनाई रहेको बताए ।

सिर्जनशील केन्द्रका अध्यक्ष सन्दीप भट्टराईले अपाङ्गता भएका व्यक्तिहरुलाई उद्यमी बनाएर र अरुको सहयोगबाट खर्च चलाउँदै आएको बताए । सचिव सम्राट केसीले दिगो विकास तथा आयआर्जन हुने कार्यक्रमलाई निरन्तरता दिनको लागि स्थानीय तहले सहयोग गर्नुपर्ने बताए । संस्थाकी कोषाध्यक्ष राधिका पोखरेलले केन्द्रले गत आर्थिक वर्ष २०७५/७६ मा ५० लाख ३२ हजार रुपैयाँ संस्थाले आम्दानी गरेको बताईन् । संस्थाको छात्रावासमा पूर्ण दृष्टिविहिन, अल्पदृटिविहिन, शारीरिक, स्वरबोलाई सम्बन्धी समस्या भएका ६५ जना बसोवास गर्दछन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •