‘अपराधीको जालो नभत्काए सम्म समस्या यथावत्’

रामचन्द्र/इमान सि
पाल्पा, भदौ २०/
मानव बेचबिखन तथा ओसारपसार कार्य गम्भीर अपराध भएकाले यसको न्यूनीकरणका लागि सबै पक्षले सहयोग गर्नु पर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्वको १२ औं राष्ट्रिय दिवसका अवसरमा जिल्लामा आयोजित कार्यक्रमका सहभागिहरुले मानव बेचबिखनमा संलग्न अपराधीहरुको जालोलाई नभत्काउँदासम्म यस क्षेत्रमा समस्या रहिरहने बताएका हुन् । उनीहरुले मानव बेचबिखनमा संलग्न अपराधीहरुलाई कडा दण्डको व्यवस्था गर्नुपर्ने धारणा राखे । ‘संघीयताको महत्वपूर्ण सार ः मानव बेचविखन अन्त्यका लागि जिम्मेवारी र सहकार्यसहित गरौं खबरदार’ भन्ने मूल नारासहित यस वर्षको दिवस पाल्पामा पनि मनाइएको हो । मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय संघसंस्थाहरुले जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, विद्यार्थी, अधिकारकर्मीलगायतको सहभागीतामा प्रभातफेरी लगायतका कार्यक्रम आयोजना गरी मनाएका हुन् ।

दिवसका अवसरमा जिल्लाको रामपुरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रदेश ५ का प्रदेश सभा सदस्य युवराज खनालले मानव बेचविखन रोक्नको लागि कानुन कार्यान्वयन गराउनु आवश्यक रहेको बताए । साथै उनले कानुनको कार्यान्वयनमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार लाग्नु पर्ने बताउँदै जनचेतनामा विशेष जानकारी ध्यान दिनु पर्ने बताए । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मानव बेचविखन गरिबी, प्रलोभनका कारणले हुने गरेको बताउँदै विदेशमा मात्रै नभई स्वदेश मै पनि हुने गरेको बताए । उनले मानव बेचविखनमा देशका जिम्मेवार व्यक्तिहरु बाटै हुने गरेको उल्लेख गरे । मेयर थापाले मानव बेचविखन न्यूनिकरणको लागि नागरिकलाई सचेत गराउन शिक्षामा विशेष जोड दिनुको विकल्प नभएको बताए । त्यस्तै कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले अपरिचित व्यक्तिको उपस्थितिको बेला सावधान अपनाउनु पर्ने बताईन् ।

कार्यक्रममा रामपुर नगरपालिकाका सल्लाहाकार लेखनाथ पोखरेल, एकिकृत शहरी विकास योजना विशेष समन्वय समितिका उपसंयोजक राजु श्रेष्ठ, रामपुर नगरपालिकाका सचेतक एवं वडा ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनी, नेपाल महिला संघका क्षेत्रिय सभापति विष्णु मायाँ ढकाल, अखिल नेपाल महिला संघ रामपुरका अध्यक्ष दुर्गादेवी राना, सुरक्षा बेस क्याम्प रामपुरका प्रमुख सुकदेव गिरि र मानव अधिकारका लागि नागरिक सञ्जाल पूर्वी पाल्पाका संयोजक छवि खनालले बोल्दै यस्ता आमानविय कार्यबाट बच्न नागरिक आफै सचेत हुनु पर्ने बताए । कार्यक्रमको अवसरमा इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले मानव बेचविखन तथा ओसारपसार विरुद्ध कानुनमा गरिएको व्यवस्था र नेपालमा मानव बेचविखनको अवस्था बारे प्रशिक्षण दिएका थिए ।
सन् २००२ मा नेपालमा सम्पन्न सार्कको ११ औं शिखर सम्मेलनबाट पारित ‘महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महामन्त्री २००२’ लाई नेपालको व्यवस्थापिका संसदले २०६३ भदौ २० गतेका दिन अनुमोदन गरेको थियो । त्यसपछि प्रत्येक वर्ष नेपालमा भदौ २० गतेलाई मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *