अंंग्रेजलाई हराएको सम्झनामा पाल्पामा विजयोत्सव, विगतको तुलनामा रौनकता कम

रामचन्द्र रायमाझी
पाल्पा,
भदौ ८/अंग्रेजलाई युद्वमा हराएको सम्झनामा पाल्पामा विजयोत्सव निकालिएको छ । रणउजेश्वरी भगवती माईको रथयात्रा निकाली शनिबार विजयोत्सव मनाइएको हो । नेपाली सेनाले अंग्रेजलाई युद्वमा हराएको सम्झनामा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट सिन्दुर जात्रा गरी विजयोत्सव मनाईदै आइएको पाइन्छ ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि दुई सय एककौं संस्करणको रुपमा विजयोत्सव मनाइएको हो । भगवती जात्रालाई काठमाडौँ पछिको दोस्रो ठूलो जात्राको रुपमा लिने गरिन्छ । गोरखदल गणले भगवतीको रथलाई १२ः४५ मा सलामी दिएर तीन पटक मन्दिर परिक्रममा गराएपछि रथ निकालिएको थियो । रथलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले बली चढाएपछि तानसेनको परिक्रममा गराइएको थियो । रथलाई कुमाल समुदायका युवाहरुले काँधमा बोकी नगर परिक्रमा गराएका थिए । पञ्चेबाजा, नौमती बाजा, लाखेनाँच, भजनकिर्तन सहितको साँस्कृतिक झाँकीले रथ यात्रालाई नगर परिक्रमा गराइएको थियो । जात्रालाई नगरपरिक्रमा पछि मन्दिर परिसरमा पु¥याई बिसर्जन गरिएको थियो ।

रथलाई मध्यरातमा पञ्चवली सहित सलामी अर्पण गरी विधिवत् रुपमा पूजा आरधाना गरिएको थियो । रथ यात्रामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार, निजामती कर्मचारी, विद्यार्थी विभिन्न संघ सस्थाका प्रतिनिधी लगायत सर्वसाधारणहरुको उपस्थित रहेको थियो । विगतका वर्षको तुलनामा यस वर्ष भने विजयोत्सवको रौनकता कम देखिएको थियो । आधुनिकताको विकास मनोरञ्जनका साधनहरु प्रयाप्त मात्रामा भएको र जात्राका लागि आवश्यक आर्थिक समस्याका कारण पहिले पहिले जस्तो जात्राको रौनकता हराउँदै गएको साँस्कृतिक देउराली अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउराली बताउँछन् । विगतमा जात्राको सुरुवातसंगै बजारमा किनमेल गर्न आउनेहरुको समेत निकै भिड लाग्ने गर्दथ्यो । पछिल्लो समयमा जात्राको महत्व र गरीमासँगै तानसेनसँग जोडिएको संस्कृति समेत हराउने अवस्थामा पुगेको छ । काठमाडांै पछि जात्रै जात्राको शहरका रुपमा चिनिने ऐतिहासिक शहर तानसेनमा बढ्दो आधुनिकताको विकास स्थानीय सरकारको वेवास्थाका कारण परम्परागत रुपमा मनाइदै आएका जात्राहरु औपचारिकतामा मात्र सिमित हुँदा तानसेनले आफ्नै पहिचान गुमाउँदै जान थालेको जिल्लाका सरोकारवालाहरु बताउँछन् ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, जिल्लाबाट निर्वाचित संघीय, प्रदेश सांसदहरु लगायतका विशिष्ट व्यक्तित्वहरुको समेत जात्रामा सहभागिता रहेको थियो । ऐतिहासिक महत्व बोकेको जात्रालाई राष्ट्रिय पर्वको रुपमा लिनुपर्ने सरोकारवालाहरु बताउँछन् । नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवलाई बचाउने पूर्खाको विषयमा खोजी गर्नुपर्ने र भगवती जात्रा बीचको राष्ट्रियता खोज्नुपर्ने इतिहासका जानकार राजेन्द्र गोपाल सिंहको भनाई रहेको छ । अंग्रेज साम्राज्यवादको आक्रमणबाट मुलुकलाई जोगाउन जितगढी विजयी गरेको इतिहास रहेको छ । आफ्नो साम्राज्यमा कही कतै सूर्य नअस्ताउने भू–भाग कोमेको अनि आफुलाई अब्बल दर्जाको रुपमा ठान्ने अंग्रेज साम्राज्यलाई पटक–पटक पाल्पा क्षेत्रको बुटवल जितगढीबाट खेदेर परास्त गरेको सम्झनामा भगवती जात्रा मनाइने गरेको पाइन्छ । कृष्ण जन्माष्टमीको अघिल्लो रात स्थानीय सेना प्रमुखले कर्णेल उजीरसिंह थापाको तरवार हातमा लिई रथ परिक्रममा राखिने भगवतीको मूर्तिलाई खटमा राखी भोलिपल्ट शुभसाइतमा सेनाको गोरखदल गणले बढाईका साथ सलामी अर्पण गर्दै श्री ७ रणउजेश्वरी भगवती माईको रथयात्रा सुरु गर्ने गरिन्छ ।

यसै क्रममा काजी वीरभञ्जन पाण्डेको सुझबुझ, कर्णेल उजीरसिंह थापाको दलमुखी आँट एवं रणकौशल र भगीरथ जैसीको सहकार्य हरेक नेपालीको मनको अन्तरकुन्तरमा उर्लेर आएको राष्ट्रिय भावना जयजयकारको स्वरले गुञ्जायमान हुने गर्दछ । कर्णेल उजीरसिंह थापाको नेतृत्वमा नेपालले १८७१ पुषदेखि १८७२ जेठसम्म भएको अंग्रेजसँगको युद्वमा विजय हासिल गरेको थियो । यहि सम्झनामा १८७६ देखि निरन्तर रुपमा प्रत्येक वर्ष जिल्लामा विजयोत्सव मनाउने प्रचलन रहँदै आएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •